अबको अनेरास्ववियु कस्तो बनाउने ? - नारायण घर्ती
अनेरास्ववियु २३औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । देशको सबैभन्दा ठूलो विद्यार्थी संगठन भएकाले यसको नेतृत्व, नीति, कार्ययोजना र कार्यशैलीका सन्दर्भमा आमचासो हुनु स्वाभाविक हो । महाधिवेशन यी सबै विषयबारे अन्तिम निर्णय गर्ने थलो हो ।
उच्च–उत्साहका बीच सात वर्षपछि अनेरास्ववियुको केन्द्रीय महाधिवेशन हुँदैछ । यस कारण पनि पार्टीका नेता, संगठनका नेता/कार्यकर्ताहरू र हजारौँ विद्यार्थीका बीच अनेरास्ववियुको आगामी महाधिवेशन चर्चाको विषय बनिरहेछ ।
हाम्रो महाधिवेशन कुशल ढङ्गले सम्पन्न गर्नु हाम्रै दायित्व हो । हामीले इतिहासमा गर्व गर्ने मात्र होइन कि भावी पुस्ताले पनि गर्व गर्न सक्ने संगठन बनाउनु हाम्रो दायित्व हो । हामी इतिहासको विरासतको ब्याज मात्र खाँदैनौँ, वर्तमानमा कुशल नेतृत्व प्रदान गर्दै भावी पुस्ताले हामीप्रति गर्व गर्न सक्ने अनेरास्ववियु निर्माण गर्न सक्छौँ भन्ने प्रमाणित यही बिन्दुबाट गर्नुपर्छ ।
आज विद्यार्थी राजनीतिको सान्दर्भिकतामाथि अनेकौँ प्रश्नहरू उठिरहेछन् । ती प्रश्नहरूको जवाफ हाम्रा एजेन्डा र कार्यशैलीबाट दिनुपर्छ । नेपालको शिक्षा आज पनि गरिब र निमुखा वर्गको पहुँचमा छैन । हाम्रो शिक्षा प्रणाली आज पनि पुरातनवादी छ । हाम्रो शिक्षा विश्वस्तरीय छैन । उल्लेखित विषयहरू हाम्रा निम्ति समस्याका विषय मात्र होइनन्, अनेरास्ववियुले उठान गर्नैपर्ने सान्दर्भिक एजेन्डाहरू पनि हुन् ।
अब ढुङ्गा बोकेरभन्दा कलम र पुस्तक बोकेर आन्दोलन गर्नेछौँ । अनेरास्ववियुले बौद्धिक तथा सीपयुक्त मानव संसाधन उत्पादनका निम्ति अभियान चलाउनेछ । अनेरास्ववियुको आगामी महाधिवेशनमा नेतृत्व तहमा बसेर काम गर्छु भन्ने प्रत्येक नेता कार्यकर्तासँग आफ्नै प्रकारको मौलिक दृष्टिकोण र योजनाहरू हुनु अत्यन्त जरुरी छ । अध्यक्ष किन बन्ने ? महासचिव किन बन्ने ? वा संगठनका अन्य जिम्मेवारी किन र केका लागि सम्हाल्ने भन्ने योजना नभईकन हामी अब नवीन शैलीमा अगाडि बढ्नै सक्दैनौँ । योजनाबिनाको पद प्राप्ति व्यर्थ हुन जान्छ ।
अनेरास्ववियुको नेतृत्व तहमा रहेर काम गरिसकेका कैयौँ नेताहरू आज पार्टीको उच्च तहमा रहेर काम गरिरहनुभएको छ । कैयौँ नेताहरू पार्टीकै तर्फबाट राजकीय जिम्मेवारीमा हुनुहुन्छ । अग्रज नेताहरू र विद्यार्थी आन्दोलनको सम्मान गर्ने हो भने हामीले अनेरास्ववियुलाई धारिलो बनाउनैपर्छ । हामी प्रत्येक नेता कार्यकर्ताले समयको प्रवाहलाई बुझ्नैपर्छ । विद्यार्थी आन्दोलनलाई भुत्ते हुन नदिनु हाम्रो दायित्व हो । हाम्रा अग्रजहरूले व्यवस्था परिवर्तनको आन्दोलन गरे, सीमा सुरक्षाको आन्दोलन गरे । हामीले उल्लेखित कार्यभारहरूका साथै शिक्षाक्षेत्रमा आमूल परिवर्तनको नेतृत्व गर्नैपर्छ । हामीले आफ्नो नेतृत्व तह र कमिटीसँगै एजेन्डा र कार्यशैली अद्यावधिक गर्नैपर्छ । यस प्रकारले अगाडि बढ्न सक्दा मात्रै हामी सान्दर्भिक भैरहन सक्छौँ ।
नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका अनुयायी हौँ हामी । सिद्धान्त र दर्शनको ज्ञान आजको आवश्यकता हो । साथै, सिद्धान्तको व्यावहारिक कार्यान्वयन हुँदा यसले जीवन्तता प्राप्त गर्ने हो । नेकपा (एमाले)लाई नवीन शैलीमा अगाडि बढाउन पनि हामीमा नवीनता हुनु जरुरी छ ।
स्ववियु निर्वाचनलाई ’मिनी पार्लियामेन्ट्री इलेक्सन’को रूपमा परिभाषित गरिन्छ । आसन्न स्ववियु निर्वाचनमा हामीले देशैभरिका उल्लेख्य क्याम्पसहरूमा विजय हासिल गर्ने आधारहरू हाम्रो कार्यशैली र रणनीतिमार्फत खडा गर्नैपर्छ
नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त, विकास दृष्टिकोण र कार्यान्वयनका बारेमा अनेरास्ववियुजस्तो प्रमुख जनवर्गीय संगठन जनसमुदायसमक्ष विस्तारपूर्वक पुर्याउने दह्रो माध्यम बन्नैपर्छ । यस प्रकाको भूमिका कुशलतापूर्वक निर्वाह गर्न हामीले आगामी महाधिवेशन सम्पन्न भएपछि थप योजनाहरू बनाउनैपर्छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि सम्मुखमा छ । स्ववियु निर्वाचनमा सधैँ प्रथम भएको गर्विलो इतिहास अनेरास्ववियुको छ । विद्यार्थी हकहितका निम्ति सधैँ लड्ने अनेरास्ववियुले विद्यार्थी परिचयपत्रका आधारमा यातायात भाडामा ४५ प्रतिशत छुट दिनुपर्ने प्रावधानका निम्ति अग्रपंक्तिमा रहेर लड्यो । त्यो हाम्रा लागि उल्लेख्य सफलता थियो । तर, आउँदा दिनहरूमा अझ विद्यार्थीमुखी एजेन्डाहरू ल्याउँदै कार्यान्वयनका निम्ति लड्नु जरुरी छ । त्यसले हामीलाई विद्यार्थीहरूमाझ लोकप्रिय बनाइरहनेछ ।
सबैभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त शैक्षिक संस्थाका भौतिक पूर्वाधारहरू लथालिङ्ग छन्, प्रविधिमैत्री शैलीमा अध्यापन गराउन नसक्ने प्राध्यापकहरू छन्, निजी शैक्षिक संस्थाहरू मनोमानी ढंगले शुल्क असुलिरहेछन् । यस्तै समस्याहरूले जरो गाडेको हाम्रो शैक्षिक क्षेत्र सुधार गर्न योजनाबद्ध अभियान चलाउनैपर्छ ।
स्ववियु निर्वाचनलाई ’मिनी पार्लियामेन्ट्री इलेक्सन’को रूपमा परिभाषित गरिन्छ । आसन्न स्ववियु निर्वाचनमा हामीले देशैभरिका उल्लेख्य क्याम्पसहरूमा विजय हासिल गर्ने आधारहरू हाम्रो कार्यशैली र रणनीतिमार्फत खडा गर्नैपर्छ । २३औँ राष्ट्रिय महाधिवेशनपश्चात् हाम्रो ध्यान स्ववियु निर्वाचनमा हुनेछ । अनेरास्ववियुका नेताहरूले स्ववियु निर्वाचन जितेका क्याम्पसहरूमा मात्र तुलनात्मक रूपमा राम्रा कामहरू भएका छन् भन्ने कुरा विद्यार्थीहरूसमक्ष पुर्याउनेछौँ । अनेरास्ववियुका नेताहरू मात्र प्रशासन र विद्यार्थीबीचको ’बलियो ब्रिज’ को काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न लाग्नेछौँ ।
शैक्षिक संस्थाहरू नयाँनयाँ युवा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्न पाइने थलो हुन् । नवआगन्तुक विद्यार्थीहरूमाझ रचनात्मक अन्तर्क्रियाका माध्यमबाट एमालेका विचारहरू प्रवाह गर्ने प्रभावकारी योजनाहरू हामीले बनाउनैपर्छ । ज्ञानशील र विश्लेषण क्षमताले भरिपूर्ण मानिने विद्यार्थी वर्गका माध्यमबाट समाजमा हाम्रा विचारहरू स्थापित गर्ने अनेरास्ववियुको मुख्य कार्यभार हो ।
समयसापेक्ष दृष्टिकोण, दृष्टिकोणसहितको प्रतिबद्धता, प्रतिबद्धताअनुसारको कार्यान्वयन आजको आवश्यकता हो । अनेरास्ववियु त्यसका निम्ति सक्षम छ । आउँदो महाधिवेशनबाट अझ सशक्त बनाउन लाग्नेछौँ । हाम्रा सांगठनिक र शैक्षिक योजनाहरू कार्यान्वयन गर्ने दृढ़ अठोटका साथ दृष्टिकोण निर्माण गर्दै अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेछौँ । विद्यार्थी आन्दोलनमा नवीन तरङ्गहरू ल्याउने अबको हाम्रो कार्यभार हो ।
लेखक अनेरास्ववियुका उपमहासचिव तथा संगठन विभाग प्रमुख हुन् ।
0 Response to "अबको अनेरास्ववियु कस्तो बनाउने ? - नारायण घर्ती "
Post a Comment